१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

राजसंस्थाकै एजेण्डा लिएर मतदाताकहाँ जान्छु : रवीन्द्र मिश्र



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफू संवैधानिक राजसंस्थाको एजेण्डा लिएरै मतदातासँग भोट माग्ने बताएका छन् । काठमाडौंको क्षेत्र नम्बर १ बाट आज उम्मेदवारी घोषणा गर्दै उनले नेपालमा कुनै न कुनै रुपको राजसंस्था पुन:स्थापना गर्नैपर्ने आवश्यकता औंल्याए ।

उनले भने, ‘२०७४ सालको चुनाव लड्ने बेलामा यही व्यवस्था बोकेर हिँडेकै हो । तर, थोरै समयमा के महसुस गरेँ भने यो देश भड्खालोतिर जाँदैछ । नेपालका संस्थाहरू क्षयीकृत हुँदैछन् । यदि राजसंस्थाजस्तो लामो ऐतिहासिक विरासत भएको संस्थालाई खोपामा भए पनि राख्नुभएन भने संकट पर्दा ऐया भन्ने समय पनि पाउनुहुन्न ।’

मिश्रले थपे, ‘के मलाई राजाको माया लागेर राजसंस्थाको कुरा गरेको हुँ ? केही पाउँछु भनेर हो ? होइन । म नेपालको हितका लागि राजसंस्था चाहिन्छ भनिरहेको छु । यो देशमा कुनै न कुनै रूपमा संविधानले बाँधेर राजसंस्था पुन:स्थापित गर्नुपर्छ । यही कुरा लिएर लिएर मतदाताकहाँ जान्छु । भोट पाए पाउँछु, नत्र खुसीसाथ धन्यवाद व्यक्त गर्छु । यसमा म प्रष्ट छु । उनले देशमा अग्रगमन र प्रतिगमनको गलत भाष्य स्थापित गरिएको टिप्पणी गरे ।

‘जसले देशको दूरगामी हित, शान्ति र स्थिरता हुनुपर्छ भनिरहेका छन् र समाजलाई अहित हुने काम गरेका छैनन्, उनीहरू पश्चगामी ? अनि देशको दोहन गर्नेहरू, देशलाई विदेशीको गुलाम बनाउनेहरू अग्रगामी ? यही हो परिभाषा ? अहिले जो आफूलाई अग्रगामी भनिरहेका छन् यिनीहरु घोर पश्चगामीका रूपमा इतिहासमा दरिनेछन्,’ मिश्रले भने ।


प्रतिक्रिया दिनुहोस !