१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

केन्द्रीय कारागारका कैदीको मृत्यु पछि कोरोना पुष्टि, हत्यापछि अंग झिकिएको परिवारको आरोप



काठमाडौँ – केन्द्रीय कारागारमा जेल सजाय काटिरहेका कैदीको गत शनिबार राति भएको मृत्युपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपनि मृतकका आफन्तले हत्या र अङ्ग झिकिएको आरोप लगाएका छन्।

मृतक ६३ वर्षीय रामलखन जैसवालको आँखा झिकिएको र शरिरको विभिन्न भागमा चोट रहेको उनकी छोरी रश्मी जैसवाललगायत आफन्तले दाबी गरेका छन्। मंगलबार बिहान उनीहरुले वीर अस्पतालअघि प्रदर्शन पनि गरेका छन्।।

‘कोरोना पोजेटिभको रिपोर्ट देखाएर हत्या लुकाउने र अङ्ग झिक्ने काम भएको छ। जेलमा उहाँको हत्या भएको हुनुपर्छ। मेरो बुबाको पोष्टमार्टम गरियोस्’, रश्मीले सञ्चारकर्मीसँग भनेकी छिन्। उनले मृतक जैसवालको शवलाई नजिकैबाटै खिचिएका तस्विर पनि सार्वजनिक गरेकी छिन्।

पार्किन्सन र प्रेसरका विरामी जैसवालको गत शनिबार राति अन्दाजी १० बजे निधन भएको थियो। विर अस्पतालका प्रवक्ता विद्यानिधि पौडेलले जैसवाललाई अस्पताल ल्याइपुर्‍याउनुअघि नै उनको मृत्यु भइसकेको र त्यसपछि कोरोना परीक्षण गरिएको बताए। ‘ अस्पताल ल्याउनुअघि नै उनको मृत्यु भइसकेको थियो। त्यसपछि कोरोना परीक्षण गर्ने काम भयो। सोमबार रिपोर्ट पोजेटिभ आयो। उनको शरिरमा त्यस्तो कुनैपनि चोट छैन’, पौडेलले भने।

यता केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाले आरोपहरु झुट्टा भएको दावी गरे। उनले जैसवाललाई सास फेर्न समस्या भएपछि शनिबार राति १० बजे वीर अस्पताल लगिएको बताए। जेलबाट निस्कँदा उनी नमस्कार गर्दै विदा भएको र शरिरमा कुनैपनि किसिमको चोट नदेखिएको हाम्रो सिसिटिभी फुटेजमा देखिन्छ’, बास्कोटाको दावी छ।

उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन छानबिन उपयुक्त हुने बताए। ‘ जैसवाललाई जेलबाट निकाल्दासम्म कुनै समस्या देखिदैन। यदि छानबिनले देखाउँछ भने म हदैसम्मको सजायका लागि तयार छु’, उनले भने। यता मृतककी छोरी रश्मीले यदि जेलबाट बिना चोटपटक ल्याइएको भए कसरी शरीरमा चोट देखियो भन्दै जेलर बास्कोटालाई पोष्टमार्टम गर्न लिखित निवेदन दिएकी छिन्।

‘कोरोना पोजेटिभ देखाएर परिवारलाई लास हेर्न नदिनै र घटना लुकाउने खेल भएको छ’, रश्मीको आरोप छ। कर्तव्य ज्यान मुद्धामा जन्मकैद सजाय भोगिरहेका रुपन्देहीको सिद्धार्थ नगरपालिकाका जैसवाल जेल बस्न थालेको ७ वर्ष भएको थियो।

२०८९ सालमा जेलमुक्त हुने थिए उनी । केन्द्रीय कारागारमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !