२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

अटेरी सरकारी कर्मचारी, भत्ता लिने पोसाक नलगाउने



काठमाडौं : मंसिर ४, सरकारले निजामती कर्मचारीहरुलाई पोसाक भत्ताका लागि बार्षिक १० हजार रुपैयाँ प्रदान गर्दै आएको छ । तर अधिकांश कर्मचारीहरुले भने भत्ता लिएर पनि तोकिएको पोसाक नलगाई कार्यालयमा काम गर्ने गरेका छन् । केन्द्रीय सचिवालय सिंहदरबारमा नै कतिपय निजामती कर्मचारीले कार्यालय समयमा तोकिएको पोसाक लगाउँदैनन् । कोरोनाको बहाना बनाएर कर्मचारी पोसाक नलगाई कार्यालयमा आउने गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले अधिकांश कर्मचारीले कोरोनाको बहानामा देशकै केन्द्रीय प्रशासन कार्यालय सिंहदरबारमा नै तोकिएको पोसाक नलगाई कार्यालय आउने गरेको बताए । उनले कर्मचारीले पोसाक भत्ता लिएपछि सबै कर्मचारीले अनिवार्य पोसाक लगाउनुपर्छ, कोरोना र पोसाकको कुनै सम्बन्ध छैन, कोरोनाको बहानामा तोकिएको पोसाक नलगाई कर्मचारी कार्यालयमा प्रवेश गर्न पाइँदैन। सिंहदरबार भित्रका कार्यालय मात्र नभई अधिकांश कार्यालयमा कार्यरत निजामती कर्मचारीले तोकिएको पोसाक नलगाई काम गर्ने गरेको उनी बताउँछन् ।

पहिला प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय सतर्कता केन्द्रले कर्मचारीले पोसाक लगाएका छन् कि छैनन् भन्ने छड्के गथ्र्यो । तर अहिले त्यो पनि कोरोनाकै बहानामा अनुगमन गर्ने गरिएको छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नयाँ सचिवको रूपमा एकनारायण अर्याल आइसकेपछि मन्त्रालयभित्र कार्यरत कर्मचारीलाई पोसाक अनिवार्य गर्न निर्देशन गरिएको छ । मन्त्रालयमा कार्यरत कर्मचारी मात्र नभई मन्त्रालयमा विभिन्न कामका लागि आउने कर्मचारीलाई समेत पोसाक अनिवार्य लगाउन निर्देशन दिइएको छ । सरकारले २०६७ साल चैतदेखि पुरुष कर्मचारीलाई सेतो सर्ट, निलो पाइन्ट र महिला कर्मचारीलाई आकाशे रङको साडी, प्याजी रङको ब्लाउज पोसाक तोकेको थियो । महिलाले सर्ट, पाइन्ट लगाउन पाउने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस !