१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

नेपाल एयरलाइन्सलाई १० अर्ब ७६ करोड रुपैयाँ घाटा



काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले २०७६ चैतदेखि २०७७ असारसम्मको अवधिमा १० अर्ब ७६ करोड रुपैयाँ आम्दानी गुमाएको छ । कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण आर्थिक वर्ष २०७६/७७ को चैतदेखि नेपालमा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको थियो । जसले गर्दा सरकारी स्वामित्वको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको आम्दानीमा असर गरेको हो । १० चैतपछि असार मसान्त २०७७ सम्म चार्टर्ड उडान बाहेकका नियमित उडान बन्द भएका थिए । नेपाल एयरलाइन्सले कोभिड-१९ को प्रभावबारे अर्थ मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा यसबारे उल्लेख छ ।

यो अवधिमा कुल १० अर्ब ७६ करोड ५२ लाख रुपैयाँ आम्दानी गुमेको नेपाल एयरलाइन्सले जनाएको छ । महामारीका कारण सेवा बन्द हुनु, देशभित्र र बाहिरका यात्रुले अग्रिम रुपमा लिएका टिकट वापतको रकम फिर्ता गर्नुपरेको र ग्राउण्ड हृयान्डलिङ वापतको राजस्व समेत गुमेको नेपाल एयरलाइन्सको भनाइ छ । असारपछि भने गन्तब्य अनुसार नियमित उडान क्रमशः खुकुलो बन्दै गएको थियो ।

आर्थिक वर्ष २०७६/७७ को अन्तिम चार महिनामा नेपाल नागरिक उड्डयन प्राधिकरणको आम्दानीमा समेत ठूलो गिरावट आएको छ । महामारीका कारण सबै हवाई उडान बन्द भएका कारण आम्दानी गुमेको हो । आव २०७५/७६ को वाषिर्क प्रगतिको तुलनामा भने सो वर्ष प्राधिकरणको आम्दानीमा १५.५३ प्रतिशतको कमी आएको हो । नेपाल नागरि उड्डयन प्राधिकरणले सो वर्ष राखेका अधिकांश लक्ष्य भेटाउन सकेन ।


प्रतिक्रिया दिनुहोस !