१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

सुदूरपश्चिममा भीम रावल र लेखराज भट्टको विजोग, बहुमत सांसद एकीकृत समाजवादीमा



धनगढी । एमालेभित्र सुदूरपश्चिम प्रदेशमा आफ्नो प्रभाव जमाएका एमाले उपाध्यक्ष भीम रावल अन्ततः कमजोर देखिएका छन् । मंगलबार सुदूरपश्चिम प्रदेशसभाका १० जना एमाले सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएसँगै लामो समयदेखि सुदूरपश्चिमको राजनीतिमा प्रभाव जमाएका रावल निष्प्रभावी ठहरिएका हुन् । त्यस्तै तीन जना प्रदेश सांसदहरु भने दस्तावेज नपुगेका कारण सनाखत नगरेरै फिर्ता भएका छन् ।

जबकि, सुदूरपश्चिम प्रदेशमा एमालेका पक्षमा भीम रावलजस्ता पुराना कमाण्डरमात्र नभई माओवादी पृष्ठभूमिबाट एमालेमा प्रवेश गरेका लेखराज भट्टजस्ता राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका निर्वाह गर्ने नेता समेत छन् । यसका बाबजुद, कमाण्डरविहीन अवस्थामै सुदूरपश्चिम प्रदेशमा माधवकुमार नेपालका पक्षमा १३ सांसद उभिएका हुन् । २२ गतेसम्म नेकपा समाजवादीको पक्षमा यो संख्या अझै बढ्न सक्ने नेताहरुले दावी गरेका छन् । यसअघि माधव नेपाल पक्षका नेता भनेर चिनिएका उपाध्यक्ष समेत रहेका रावल माधव नेपालले अलग पार्टी गठन गर्दा ओलीतिरै लागेका थिए ।

सर्वोच्च अदालतको गत फागुन २३ को फैसलाले नेकपा विभाजन भएपछि रावल माधव नेपालको पक्षमा लाग्दा एमाले अध्यक्ष ओलीले माओवादीबाट प्रवेश गरेका लेखराज भट्टलाई एमालेको सुदुरपश्चिम इन्चार्ज बनाएका थिए । तर, एमालेमा आएको विभाजनमा रावल ओलीतिर लागेपछि ओलीले पुनः भदौ १३ पछि रावल नै इन्चार्ज रहेको सर्कुलर जारी गरेका थिए । राष्ट्रियताका सवालमा खरो र तर्कपूर्ण टिप्पणी गर्ने रावल ओलीले संविधानविपरीत गरेको संसद विघटनलाई प्रतिगामी भन्दै आएका थिए । तर, पछिल्लो पटक उनै ओलीसँग जोडिन पुगेपछि विगतमा रावललाई साथ दिदै आएका सुदूरपश्चिमका नेताहरुले समेत उनको साथ छोडेका छन् ।


प्रतिक्रिया दिनुहोस !