१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

एमसीसी पास गरिदिन अमेरिकाको डा. बाबुराम भट्टराईसँग लबिङ



काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अमेरिकी राजदूत ¥याण्डी बेरीबिच भेटवार्ता भएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोर्रेसन एमसीसी पारित गराउनका लागि बाबुराम भट्टराईलाई लबिङ गरिदिन आग्रह गर्नका लागि राजदूत बेरीले भट्टराईलाई भेटेको दूतावास स्रोतले जानकारी दिएको छ ।

अहिले एमसीसी पारित गराउनका लागि सत्तारुढ गठबन्धनबीच सहमति जुटाउन पहल भैरहेको छ । एमसीसी संसदबाट पारित हुनुपर्ने व्यवस्था छ । आजदेखि प्रतिनिधि सभाको अधिवेशन सुरु हुँदैछ । संसदको अधिवेशन सुरु हुने पहिलो दिन नै अमेरिकी राजदूतले भट्टराईलाइ भेटेर एमसीसी पारित गराउन आग्रह गरेका हुन् ।

बुधबार राजधानीको होटल मेरियटमा भेटवार्ता भएको हो । एमसीसी पारित गराउनका लागि सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवा प्रयासरत छन् । एमसीसी सम्झौताको सुरुवात पनि देउवाको यसअधिको कार्यकालमै भएको थियो । त्यसतिबेला तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर शाहीले यो सम्झौता गरेका थिए ।

यसैसाता एमसीसी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आउने कार्यक्रम छ । एमसीसी टोली काठमाडौं आउनुअघि राजदूत बेरीले एमसीसीमा समर्थन जुटाउन भेटवार्ता थालेका हुन् । यो परियोजना अन्तर्गत अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ। तर यो परियोजना आएपछि नेपालमा अमेरिकी सेना आउने लगायतका तर्क गर्दै यसको विरोध भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !