ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु « Name of Truth News : News Portal in Nepal
   ३० आश्विन २०७८, शनिबार
 |   Sat Oct 16 2021
Logo

ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु



ट्र्याक्टर दुर्घटना हुँदा खोटाङमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । रसुवाबाट बालुवा लिएर दिक्तेलतर्फ आइरहेको स१त ७०७१ नंको ट्र्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित पानी ट्याङ्कीमा दुर्घटना हुँदा सोही नगरपालिकाको वडा नं १२ जालपाका १९ वर्षीय सहचालक डिलक्स राईको घटनास्थलमै मृत्यु भएको हो ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम सडकखण्ड नुनथलामा सँगसँगै आइरहेको अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा ट्र्याक्टर अनियन्त्रित भई सडकबाट ३५ मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि ट्र्याक्टर चालक हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महेन्द्र राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताउनुभयो ।

ट्र्याक्टर दुर्घटना भएलगत्तै प्रहरी नियन्त्रणमा रहेका चालक राई सकुशल रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार उक्त ट्र्याक्टर दुर्घटना गए राति करिब १० बजेको समयमा भएको जनाइएको छ । मृतक राईको शव जिल्ला अस्पताल दिक्तेल ल्याएर परीक्षण गरेपछि दाहसंस्कारका लागि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त ट्र्याक्टर घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !


मलिका महत फिल्ममा फ्लप, म्युजिक भिडियोमा हिट



काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म यात्रा : म्युजिकल भ्ल्ग मार्फत रजतपटमा डेब्यु गरेकी मलिकाले दोस्रो फिल्म ‘पानीफोटो’मा समेत अभिनय गरिसकेकी छिन् । फिल्ममै आफूलाई स्थापित गर्ने तयारीमा रहेकी मलिका केही समययता भिडियोमा व्यस्त छिन् । फूलबुट्टे सारी’ मा अभिनेता पल शाहसँग देखिएपछि दर्शकमाझ उनको लोकप्रियता बढ्दो छ । दर्शकले पल र मलिकालाई ’पिएम’ जोडीसमेत भन्न थालिसकेका छन् । भिडियोमा अभिनय गर्न थालेको केही समयमै उनको आँखामा आउने सपनी, टाढा भए पनि, तिम्रो मनमा ए कान्छा लगायतका गीत दर्शकले सर्वाधिक रुचाएका छन् ।

भिडियोमा पछिल्लो समय खोजिने मोडलको लिस्टमा मलिकाको नाम अगाडि आए पनि फिल्ममा भने उनले त्यो लोकप्रियता पाउन सकेकी छैनन् । उनले दुई फिल्ममा अभिनय गरे पनि ’पानीफोटो’ भने प्रदर्शन हुन बाँकी छ । तर, उनको भिडियोझैँ लोकप्रियता फिल्ममा भने कम छ । केही दिन अगाडि मात्र फिल्म ’सत्यम’मा अनुबन्धित् भएकी मलिका आफूलाई फिल्ममै सफल देख्न चाहन्छिन् । केहि समयअगाडि मात्र उनी एक प्रतिष्ठित ब्यानरको अडिसनमा रिजेक्ट भएकी थिइन् । उनले पाएको रोललाई अडिसनमा न्याय गर्न नसकेपछि उनलाई लिन नसकिएको उक्त फिल्मको टिमका एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस !

विश्वभरी चर्चामा किमको नयाँ फेसन, माथि सुट पाइन्ट र तल चप्पल



एजेन्सी । अस्वभाविक अभिव्यक्तिका कारण बारम्बार चर्चामा आउने उत्तर कोरियाली नेता किम जोङ उन फेरि सञ्चार माध्यममा चर्चामा आएका छन् । यस पटक उनी अभिव्यक्तिभन्दा पनि आफूले लगाएको फेसनका कारण चर्चामा आएका हुन् । ३७ वर्षीय तानशाह किम आइतबार राजधानी प्योङयाङमा आयोजित एक कार्यक्रममा अस्वभाविक पहिरनमा देखिएका थिए । किमले चप्पल र मोजामाथि सुट लगाएका थिए । कालो सुट र टाइममा सजिएका किमले चप्पल लगाएपछि धेरैको ध्यान उनीप्रति तानिएको थियो ।

उनको पछिल्लो पहिरनले किमको स्वास्थ्यबारे फेरि अड्कलबाजी सुरू भएको छ । उनको खुट्टाको शल्यक्रिया वा गहिरो घाउका कारण जुत्ता लगाउन नमिलेर चप्पल लगाएको हुन सक्ने अनुमान गरिएको छ । अस्वभाविक रूपमा मोटा किम पछिल्लो समयमा केही छरितो देखिएका छन् । उनले १० केजी भन्दाबढी तौल घटाएको कोरियाली सञ्चार माध्यमहरूले जनाएका छन् ।

उनको स्वास्थ्यबारे विज्ञहरूले बारम्बार चासो दिँदै आएका छन् । अत्यधिक धुमपान गर्ने किम मुटुसँग सम्बन्धित समस्याबाट पीडित छन् । उनका हजुरबुबा र बाबु दुबैको ह्यदघातका कारण मृत्यु भएको थियो । सत्तारुढ कोरियाली पार्टीको स्थापना दिवसको अवसरमा सहभागी भएका किमले आफ्नो पार्टी आर्थिक लक्ष्य प्राप्तीका लागि दृढ भएको बताएका थिए । कोरियाले सामान गरेको समस्यासँग जुध्न नेतृत्वपंक्ति अनुशासित हुनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !

एकीकृत समाजवादी बैतडीको इन्चार्जमा भट्ट, दार्चुला इन्चार्जमा बैतडीकै बिष्ट



बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बैतडी जिल्ला इन्चार्जमा प्रमानन्द भट्ट चयन भएका छन् । भट्ट केन्द्रीय पोलिटब्यूरो सदस्यसहित जिल्ला इन्चार्ज चयन भएका हुन् । नेकपा एमाले विभाजनपछि बनेको नेकपा (एस) मा गएका भट्टलाई पार्टी स्थायी कमिटीको बैठकले जिल्ला इन्चार्जमा चयन गरेको हो । भट्ट बैतडीमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता हुन् । यसैगरी, पूर्व प्रदेश मन्त्री तथा नेकपा (एस) का केन्द्रीय सदस्य माया भट्ट प्रदेश सहसचिवमा चयन भएकी छन् । यसअघि एमाले हुँदा र माओवादीसँगको एकतापछि बनेको नेकपा हुँदाका बेला प्रदेश कमिटी सदस्य रहेकी भट्ट अहिले नेकपा (एस) को प्रदेश सहसचिव पदमा चयन भएकी हुन् ।

यसैगरी, नेकपा एमाले बैतडीका पूर्व अध्यक्ष तथा प्रदेश कमिटी सदस्य रहेका नरेन्द्र बिष्ट नेकपा (एस) को केन्द्रीय सदस्यसहित दार्चुलाको जिल्ला इन्चार्जमा चयन भएकाछन् । गत बिहीबारदेखि जारी स्थायी कमिटीको बैठकले नेताहरुको जिम्मेवारी बाडँफाड गरेको प्रदेश कमिटी सदस्य नरेन्द्र बिष्टले बताए । पार्टीका नियमित कामकाजहरु अब अगाडि बढाउने नेता बिष्टले बताए । आउँदो ३ कात्तिकमा बैतडी जिल्ला कमिटीको बैठक बसेर आगामी कार्यक्रमहरू तय गरिने उनले बताए । आगामी दिनमा पार्टीको पालिका तथा वडास्तरका कार्यक्रमहरू सञ्चालन गरिने उनले बताए । पालिका र वार्डस्तरमा संगठन विस्तार तथा सुदृढीकरणका कार्यक्रम आयोजना गरिने नेकपा (एस) बैतडीले जनाएको छ । न्युजकारखाना ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: