१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

कालिकोटमा युवा लक्षित रोजगार कार्यक्रम खारेज



कालिकोटका दुई स्थानीय तहमा युवा लक्षित रोजगार कार्यक्रम सरकारले सञ्चालनमा ल्याएको थियो । लामो समयपछि २०७४ मा निर्वाचित स्थानीय सरकारले नागरिकले आहा गर्ने खालका कार्यक्रम सार्वजनिक गरेका थिए । केहीले कार्यविधि बनाउँदै समय गएको भनेर आफैले तयार गरेका कार्यक्रम लागु गर्न सकेनन् भने रास्कोट नगरपालिका र पलाँता गाउँपालिकाले भने युवालाई विदेशीनबाट रोक्न युवा लक्षित कार्यक्रम लागु गर्यो । 

सुरुमा पलाँता गाउँपालिकाले पलाँता विकास निर्माण दल नाम दिएर दुई ६० जना भन्दा बढीको दस्ता निर्माण गर्‍यो । पलाँता विकास निर्माण कार्यदलका नाममा गाउँपालिकाले गर्ने सबै विकासे काममा गठित युवाहरूको समूहले भाग लिने गरेको थियो । विपक्षले गाउँपालिका अध्यक्षले आफ्नो सुरक्षा दस्ता बनाएको भनेर आलोचना पनि गरे । तर वर्षौँदेखि पूरा हुन नसकेका पलाँताका खानेपानी सिँचाइ कुलाे लगायतका योजना ती निर्माण दलले पूरा गरेपछि युवाहरूलाई सही ठाउँमा लगाएको भनेर चर्चा पनि हुन थाल्यो । 

यता रास्कोट नगरपालिकाले पनि श्रमको सन्चीतीकरण गर्ने र आफ्नो नगरपालिकाको विकाससँगै आवश्यकता परेमा अन्य ठाउँमा पनि श्रम बेच्ने मनसायले रास्कोट श्रम रोजगार बैक नाम दिएर दुई ६० जना २० वर्ष पुरा भएका र ४५ वर्ष नकाटेकालाई रोजगारी दियो । तत्कालीन नगरपालिका प्रमुख कासिचन्द बरालले नगरको हरेक विकासमा ती युवाहरूको समूहलाई जिम्मा दिने र खपत हुन नसकेको युवा समूहलाई अन्य गाउँपालिका तथा नगरपालिकामा सञ्चालन हुने विकासे काममा पठाउने उद्देश्यले रास्कोट श्रम रोजगार बैक नाम दिएर सञ्चालनमा ल्याएको बताउनुभयो । तर अघिल्लो सरकारको कार्यकाल सकिएसंगै रास्कोट र पलाँताका विकासे युवा समूह खारेज भएका छन् । 

पछिल्लो सरकारमा निर्वाचितहरुले अघिल्लो सरकारका निर्माणलाई निरन्तरता नदिएका कारणले दुवै पालिकामा गठन भएका विकास निमार्ण दल र श्रम रोजगार बैक स्वतः खारेज भएका छन् । तत्कालीन नगरप्रमुख बरालले कार्यविधि बनाएर उनीहरूको बिमासहित ५० वर्ष उमेर पुगेमा पेन्सनसहित बिदाइ गर्ने भनिएको सुनाउनुभयो । तर पछिल्लो सरकारले भने कुनै कार्यविधि नभएकाले स्वतः खारेज भएको जनाएको छ । वर्तमान नगर प्रमुख धर्मराज शाहीले अघिल्लो सरकारको नेतृत्वसँगै श्रम रोजगार बैक पनि स्वतः बिदाइ भएको जवाफ दिने गर्नुभएको छ । 

उता पलाँता गाउँपालिका निर्वतमान अध्यक्ष लक्ष्मण बहादुर बम र बहालवाला अध्यक्ष विष्णुबहादुर रोकायाको पहिलादेखिको द्वन्द्वका कारणले पलाँता विकास निर्माण दललाई पनि निरन्तरता दिइएन । सुरुमा एकै दलका बम र रोकाया पछिल्लो समय अलग अलग दलमा आबद्ध भएपछि झन् दूरी बढ्दै जाँदा अघिल्लो सरकारका हरेक योजना खारेज हुँदै आएको सबैको अनुमान छ । यता रास्कोटमा पनि उस्तै भएको छ । तत्कालीन नगरप्रमुख बराल र बहालवाला नगरप्रमुख शाही अहिले फरक फरक दलमा आबद्ध छन् । त्यसैको प्रभावले पनि श्रम रोजगार बैक खारेज गरेको अनुमान गर्नेहरू धेरै छन् । हुन पनि अनुमान गरेको जस्तै भएको छ । 

रास्कोट नगरपालिकामा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृत जवान सिंह बमले अणुमानसँगै देशमा आएको कोरोना महामारीले गर्दा पनि श्रम रोजगार बैकले काम नपाउँदा सदस्य आफै रोजगारीका लागि भारत जान थालेपछि बिस्तारै खारेज भएको सुनाउनुहुन्छ । सबै कारणले काम गरेकाले श्रम रोजगार बैक खाली भएको बमको भनाई छ । बमको भनाइमा आन्तरिक द्वन्द्वको कारण पनि मिसिएको छ । रास्कोट नगरपालिका र पलाँता गाउँपालिकाले सञ्चालनमा ल्याएको यी कार्यक्रमले युवा बिदेसिन भने केही कम भएको थियो । पलाँता विकास निर्माण कार्यदल र रास्कोट श्रम रोजगार बैंक खारेजपछि प्राय युवा तेस्रो मुलुक छिरेका छन् भने केही भारतमा गएर मजदुरी गरिरहेका छन् । 

Source : Gorkhapatra Online


प्रतिक्रिया दिनुहोस !