१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

राजेश हमाललाई ओलीको कटाक्ष- महानायक हुँदाहुँदै म किन फिल्ममा आउने ?



राजनीतिज्ञको रुपमा केपी शर्मा ओली र अभिनेताको रुपमा राजेश हमालबीच एउटा समानता छ- दुवै जनामाथि प्रशस्तै ट्रोल र मिम बन्छन् । दुवैको हास्यचेत  गज्जबको छ ।

शुक्रबार यी दुईजना एउटै मञ्चमा सुनिए । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको विमर्श सत्रमा यी दुईले कला, समाजवाद, अध्यात्म, राजनीतिदेखि ब्रह्माण्डसम्मका आयाममा गफगाफ गरे । दुई घण्टा लामो संवाद वस्तुगत र विषयगत दुवै पक्षमा केन्द्रित रह्यो ।

‘कला झूट हो’ भन्ने महान चित्रकार पिकासोको भनाई उद्धृत गर्दै हमालले ओलीलाई प्रश्न गरे । जवाफमा ओलीले जीवन अभिनय गरेर नचल्ने तर्क गरे ।

उनले भने, ‘फिल्ममा नखाएपनि खाएको अभिनय, प्रेम नभएपनि प्रेमको अभिनय, नलडे पनि लडेको अभिनय, घाइते नभएपनि घाइते भएको अभिनय, नमरे पनि मरेको अभिनय । जिन्दगीमा त यो हुँदैन नि त ।’

हमालले कलाको सुरुआत झूठबाट हुने भन्दै पिकासो अभिव्यक्तिलाई पुष्टि गर्ने प्रयास गरे । ‘फिल्म झूठको खेती हो भन्ने थाहा हुँदाहुँदै पनि फिल्ममा देखाइएका कुराबाट प्रभावित भएर कोही रुन पनि सक्छ, कोही हाँस्न पनि सक्छ’ हमाल भन्छन्, ‘मान्छे विभिन्न किसिमको भावनात्मक उतारचढावमा बहन थाल्छ । यसकारण भिजुअल मिडियाको त्यो सशक्ततालाई त नकार्न मिल्दैन होला नि ।’

तपाईं फिल्ममा नआउने ? हमालको प्रश्नमा ओलीको जवाफ थियो- फिल्ममा आउने रुचि छैन । महानायक र साथीहरु हुनुहुन्छ । म किन सिक्न आउने ?’

त्यसपछि हमालले आफ्नो बहुचर्चित डायलग बोले- साथीहरुको यो हात सलाम, दुस्मनको लागि यो हात फलाम ।’ ओलीले यसमा टिप्पणी गर्दै भने- राजेशजीले मेरो लागि बोल्दिनुभएको छ ।’

दर्शकदीर्घाबाट ओलीलाई प्रश्न तेर्सियो- यो उमेरसम्म पनि तपाईंको ऊर्जाको स्रोत के हो ?

ओलीले कर्तव्यबोध र इच्छाशक्ति भन्ने जवाफ दिए । ‘मलाई बाँचुन्जेल बाँच्नुको अर्थ हुनुपर्छ । मैले जति बाँच्छु, सक्रिय जीवन बाँच्ने हो’ ओली सुनिए ।


प्रतिक्रिया दिनुहोस !