१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

सुन तस्करी प्रकरणमा जोडिएका चलाउनेसँग एआईजी ज्ञवालीको संदिग्ध सम्बन्ध



काठमाडौं । सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगद्वारा दोषी किटान गरिएका जीवन चलाउनेसँग एआईजी श्यामलाल ज्ञवालीको सन्दिग्ध सम्बन्ध पाइएको छ । चलाउने र ज्ञवालीबीचको फोन सम्पर्कको कल डिटेलसहित गृहमन्त्री रवि लामिछानेसमक्ष उजुरीसमेत परेको छ । ओखलढुंगाको सिद्धीचरण नगरपालिका १ स्थायी घर भई काठमाडौं बूढानीलकण्ठ १० कपन बस्दै आएका दिनेश पौडेलले गृहमन्त्री लामिछानेलाई ज्ञवालीमाथि छानबिन गरी कारबाही गर्न माग गरेका हुन् । उक्त लिखित पत्रको बोधार्थ प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिइएको छ ।

जाँचबुझ आयोगले प्रतिवेदन बुझाएलगत्तै ज्ञवालीले आफूसँग पैसा मागेको भन्दै चलाउनेले विभिन्न सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएका थिए । त्यही बेला सरकारले ज्ञवालीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को जिम्मेवारी दिएर पठाएको थियो । ज्ञवालीले आफूसँग एक करोड रूपैयाँ मागेको चलाउनेको दाबी थियो । पौडेलले गृहमन्त्री रवि लामिछानेसमक्ष बुझाइएको उजुरीमा ज्ञवाली र चलाउनेबीच २०८० असार १८ गते राति ८ बजेर ३० मिनेटमा मोबाइलमा ११६ सेकेन्ड कुराकानी भएको दाबी गरिएको छ । ज्ञवालीले आफू सुन तस्करीको अनुसन्धानबाट उन्मुक्ति पाउन शक्ति केन्द्र लगाएर आफैँ सीआईबी पुगेको जिकिर उजुरीमा छ ।

पौडेलका अनुसार ज्ञवालीले चलाउनेमार्फत मिटरब्याजमा पैसा लगाउने गरेका थिए । आफ्ना सहोदर दाजु ठाकुरप्रसाद ज्ञवालीको एक करोड रूपैयाँ श्यामलालले चलाउनेमार्फत मिटरब्याजमा लगाएको उजुरीमा जनाइएको छ । दुई जनाबीचको फोन सम्पर्कको प्राविधिक अनुसन्धान गरी ज्ञवालीलाई छानबिनको दायरामा ल्याउन पौडेलले माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !